Pages

Thursday, January 15, 2009

यौनका विषयमा पाकाको चासो-http://kantipuronline.com/kolnepalinews


अमृत भण्डारी प्रविधिको विकाससँगै बनेका प्राविधिक सामग्री दैनिक आवश्यकता बन्ने गरेका छन् । यसरी दिनानुदिन मानिसले नयाँ अन्वेषण तथा अनुसन्धान गरिरहेछन् । मानिसको जीवनलाई सहज बनाउन विज्ञानले ठूलो भूमिका खेलेको छ । यसरी अन्वेषण भएका सामग्रीको मानिसले सदुपयोग तथा दुरुपयोग दुवै गरेको पाइन्छ । त्यो पनि सहरमा मात्र होइन कि गाउँमा पनि प्रयोग हुनथालेको छ । मोबाइलकै कुरा गर्ने हो भने सुरु-सुरुको समयमा पर्ने मोबाइलको सेटको मूल्यमा धेरै नै गिरावट आएको छ । चार-पाँच हजारमा पनि धेरै सुविधा भएका मोबाइल बजारमा प्रशस्तै पाइन्छन् । साथै कम्प्युटर पनि धेरै नै सुलभ भएका छन् भने धेरै विद्यार्थीकै लागि पनि पहुँचभित्रकै वस्तु भएको छ, कम्प्युटर । एकदिन पसलमा चिया खाँदै थिएँ । उमेरले कान्छा देखिने दुई भाइ पनि त्यही पसलमा चिया खाँदै थिए । उनीहरूले मोबाइल हेर्दै हाँस्दै चिया पिउँदै गरेका थिए । म त्यही समयमा साथी आएकाले उठेर अर्को स्थान गएँ । उठेकै अवस्थामा ती दुई भाइको मोबाइलको स्त्रिmनमा मेरा आाँखा पुग्ो । त्यहाँ उनीहरूले नीलो फिल्म हेरेको देखेँ । मैले मोबाइलमा गीतहरू राख्ने-सुन्ने गरेको, एफएम सुन्ने गरेको धेरैको पाएको थिएँ । म आफू पनि मोबाइलमा रेडियो सुन्ने गर्छु । तर नीलो फिल्म नै मोबाइलमा बोकेको भने पहिलोपटक देखेँ । ती दुई भाइको मोबाइलमा नीलो फिल्म देखेपछि मैले भिडियो भएको मोबाइल सेटमा कसले के राख्दोरहेछ भनेर चासो दिनथालेँ । जीवन पुस्तान्तर हुँदै गएको छ । तर यौन आनन्द र त्यो प्राप्तिका लागि गरिने कार्यमा भने लुकेर भए पनि पाकाहरूको मन जाने गरेको पाइन्छ । पढाइ-लेखाइ र परम्परावादी सोचबाट नेपालका पाका मानिस पनि एक फड्को मार्न चाहन्छन् । कति घरमा सबैजना बाहिर गएको मौका पाए हजुरबुबाजस्ता पाकाले पनि फेसन टीभीतर्फ रिमोट बढाउँछन् । यौन विषय जति बुढेसकाल लागे पनि तन्नेरी र पाकाबीचमा उत्सुकताको विषय बन्दोरहेछ । त्यसैले होला, यस्ता विषयका लागि पाकाले पनि टाउको तानेर हेर्ने कोसिस गर्छन् । छोराछोरीले फेसन टीभी हेर्नलागे भने गाली गर्ने पाका अभिभावक आफू कोठामा एक्लै भएमा त्यसलाई अवसरको रूपमा लिएर रिमोर्ट घुमाइहाल्छन् । यसै विषयमा कुरा गर्दा वरिष्ठ मानवशास्त्री डिल्लीराम दाहाल भन्नुहुन्छ- पाका र युवाबीचमा केही कुरा एउटै रुचिका हुनसक्छन् । जस्तै- मोबाइलको प्रयोग, कपडा लगाउने, नयाँ अनुभव गर्ने विषयमा नेपालीहरू पनि अगाडि नै देखिन थालेका छन् । मलाई खुलदुली पनि लाग्यो । कम्प्युटर नै भएकाहरूका घरमा के होला भनेर । अहिले समाज यति धेरै परिवर्तन भएछ कि विवाह गरेको केही समयपछि त श्रीमान-श्रीमती बसेर नै नीला फिल्म हेर्ने चलन बढेको रहेछ । ख्याल-ख्यालमा एक विवाहित साथीसँग कुरा गर्दा उसले यसलाई हल्का रूपमा लियो । गाउँमा धेरै तन्नेरीले हिन्दी तथा नेपाली गीतहरू मोबाइलमा राखेर सुन्दै हिँडेको पाइन्छ । यही सहरमा पनि कानमा एयरफोन राखी रेडियो वा आफूले नै राखेका गीत मोबाइलमा सुन्दै हिँडेको पाइन्छ । बहुआयामिक रूपमा सुविधा भएको मोबाइलमा फोन त हुँदै भयो, समय हेर्न, आफ्नो सन्देश पठाउन, रेडियो सुन्न, फोटो खिच्न, भिडियो लगायतका सुविधा छन् । यी सुविधाको उपयोग गर्नु हुँदैन भन्ने होइन कि सही र उचित सदुपयोग गरेमा हाम्रो नराम्रो बानीलाई प्रोत्साहन नमिल्न सक्छ । विवाह गरेपछि बाबुआमा तथा छिमेकीका अगाडि श्रीमतीसँग नबोल्ने समाज अहिले बाबुआमाकै अगाडि अँगालो हाल्नु सामान्य भएको छ । तर श्रीमतीसँग पनि नखुल्ने विगत अहिले नीलो फिल्म हेर्नेसम्म पुगेको रहेछ । मोबाइलमा अधिकांश युवाले यस्ता फिल्म बोकेर हिँड्ने सामान्य भइसकेको रहेछ । हुन त यौनका विषयमा विगतमा भन्दा वर्तमानमा हाम्रो समाज निकै अगाडि बढेको छ । आफ्नो स्वास्थ्यको ख्याल गर्नु, यौनका विषयमा सचेत हुनु राम्रो कुरा हो । तर आफ्नै पाकेटमा नीला फिल्म बोकेर हिँड्दा आपराधिक गतिविधि पनि बढ्न सक्छ । एक १२ कक्षा पढ्ने युवाले भने- अचेल त केटीले पनि यस्ता फिल्म मोबाइलमा बोकेर हिँड्छन् । यौनको तृष्णा सबैसँग हुन्छ र त्यसलाई व्यवस्थित गर्न नसकेर नीला फिल्म हेर्दै जाने हो र सन्तुष्टि लिन थाल्ने हो भने यसले मानसिक रूपमा पनि मानिसलाई विपरीत दिशामा निर्देशित गर्न सक्छ । मलाई ठूला र पाका मानिसको पनि धेरै सुविधा भएको मोबाइल हेर्न मनलागेको छ । उनीहरू के राख्दारहेछन् ? सुन्ने गरेको छु, बुढेसकालमा फेसन टीभी लुकेर हेर्ने पाकाहरूको बानीलाई कतै मोबाइल सेटले पनि रोमाञ्चित त बनाउँदैन ?नलुकाई भन्दा केही पाका साथीले पनि यस्ता दृश्य आफ्ना मोबाइलमा कैद गरेका रहेछन् । आफ्नो स्वास्थ्यका लागि बजारमा कन्डम किन्न जान लाज मान्नेले यस्ता दृश्य बोकेर हिँड्दैमा यौनबारे समाज खुल्दै आएको छ भन्न पनि सकिँदैन । हुन त युगौंदेखि बाँधिएर रहेको समाजमा केही खुलापन आउँदा केही समय विकृति बढ्न पनि सक्छ । तर त्यसका लागि अभिभावक तथा सचेत समाजका नागरिकले पनि ध्यान दिनु जरुरी छ । यौनका विषयमा जति बढी समाज खुल्न सक्दैन, त्यति बढी नीला फिल्म हेरेर चित्त बुझाउनेको संख्या बढ्नेछ । हामी आफैंले आफैंलाई नढाँटी भनौं, कतिको घरको कम्प्युटरमा लुकाएर राखेका फाइलभित्र नीला फिल्म छन् । गाउँकै एक भाइले मलाई भनेका थिए, एक शिक्षित परिवारका बाबुछोरा सँगै बसेरै नीलो फिल्म हेरे रे । यसले आफ्ना सन्तानमा पार्ने मानसिक असरलाई उनले बुझ्न सकेनन् । प्रविधिको विकाससँगै बढेका सामाजिक विकृतिले भविष्यको समाजलाई अझ बढी अपराध तथा समवेदनहीनतातर्फ लैजानेछ । गाउँदेखि सहरसम्मका हाम्रा राम्रा विगतका अभ्यासलाई आधुनिकतासँगै बिर्संदै जानुपर्छ भन्ने छैन । हामी हाम्रो संस्कृतिका लागि पश्चिमी तथा युरापेलीभन्दा बढी भाग्यमानी छौं । सकारात्मक पक्षलाई अवलम्बन गर्ने र नकारात्मक पक्षलाई नकार्ने हो भने भविष्यमा हामी आधुनिकीकरण तथा विश्वव्यापीकरणसँगै सुखी जीवन बिताउन सक्छौं । जसले क्षणक्षणको असन्तुष्टि तथा छट्पटीलाई समेत हटाउँदै एक नयाँ र सभ्य समाज विकास गर्न सहयोग पुर्याउनेछ ।

लेखक, मानवशास्त्री हुन् ।

No comments: