Pages

Wednesday, January 14, 2009

परेर पनि कहिल्यै सिक्न नजान्ने हामी-From Dainikee.com

अमृत भण्डारी
दुर्भाग्य, हामीकहाँ विकसित मुलुकमा जस्तो गल्तीबाट शिक्षा लिने संस्कारको विकासै हुन सकेन।
गत मंसीर २६ गते बनभोज सकेर बुटवल फूलबारीबाट फर्कँदै गर्दा नवलपरासी मुकुन्दपुर–६ स्थित कलभर्टमा बस दुर्घटनामा परी २३ जना विद्यार्थी तथा शिक्षकले ज्यान गुमाए। दुर्घटनाको कारण चालकले मदिरा सेवन गरेर तीब्र गतिमा गाडी चलाउनु रहेको घाइतेले जानकारी दिए। मदिरा सेवन गरेर शिक्षकसँगसमेत झगडा गरेका चालकले चलाएको गाडीमा बस्नु नै ठूलो गल्ती भयो। यति धेरै विद्यार्थी तथा शिक्षकको मृत्युले चितवनलाई मात्रै होइन देशभरका संवेदनशील नागरिकलाई झकझक्यायो। विकसित मुलुकमा यस्ता दुर्घटनामाथि लामो बहस र अनुसन्धान गरिन्छ। एउटै गल्ती बर्षौका लागि पाठ बन्छ र त्यसबाट सबैले शिक्षा लिने गर्दछन्। दुर्भाग्य, हामीकहाँ त्यस्तो संस्कृतिको विकासै हुन सकेन। उल्लेखित घटना त एक उदाहरण मात्रै हो यस्ता दुर्घटना हामीकहाँ बर्षेनी हुने गरे पनि त्यसबाट कसैले पाठ सिकेको पाइदैन।
विद्यालयको गाडी चालक सामान्य चालक मात्र होइन । उसको व्यवहार र गाडी हकाइले पनि विद्यार्थीमा मानसिक प्रभाव पार्न सक्छ। तर यहाँ त स्कुलका गाडी चलाउनेले समेत बेतोडसँग हाँक्ने, अरुलाई पेल्दै गुडाउने र बीच बाटोमा गाडी रोकेर फोहर बोल्दै अरुलाई गाली गरेको पाइन्छ।काठमाडौमै चल्ने स्कुलका गाडीको बारेमा चर्चा गर्ने हो भने अधिकांशले जिम्मेवारीबोध गरेको पाइँदैन। विद्यालयको भौतिक संरचना राम्रो बनाउँदैमा र विदेशी स्तरको शिक्षा दिने व्यानर तथा टेलिभिज विज्ञापनले मात्रै विद्यालय सञ्चालनको दायित्त्व पूरा हुँदैन। विद्यालय सञ्चालनमा संलग्न र प्रयोग हुने सबै इकाइमा अनुशासन हुनु अनिवार्य हुन्छ। अझ विद्यार्थीको जीवनलाई एउटा स्टेरिङमा राखेर गाडी चलाउने चालक त झन् संयमी र सभ्य हुन जरुरी छ। विहान रिङरोड हुदै हात्तिवनसम्म पुग्दा धेरै विद्यालयका स्कुले नानी बोकेका थुप्रै गाडी देख्ने मौका पाउँछु। मैले काठमाडौंका सडकमा हिड्ने अधिकांश विद्यालयका गाडीका चालकले आफूलाई जिम्मेवार बनाएर गाडी चलाएको देखेको छैन। विद्यालयको गाडी चालक त सामान्य चालक होइन । उसको व्यवहार र गाडी हकाइले पनि विद्यार्थीमा मानसिक प्रभाव पार्न सक्छ। तर यहाँ त स्कुलका गाडी चलाउनेले समेत बेजोड हाँक्ने, अरुलाई पेल्दै गुडाउने र बीच बाटोमा गाडी रोकेर फोहर बोल्दै अरुलाई गाली गरेको पाइन्छ। विद्यालयको गाडी चलाउने चालक सभ्य र संयमी हुन जरुरी ठान्दैनन् विद्यालय खोलेर महगो शुल्क उठाउने सञ्चालकले पनि। वास्तवमा चालकको बोलीले साना नानीको मानसिकतामा गहिरो छाप पर्न सक्छ। नराम्रो बोली बालबालिकाले पनि सिक्न सक्छन् भन्नेमा विद्यालयका सञ्चालक वा शिक्षकसमेत सचेत छैनन्। स्कुलको गाडी चलाउने चालकलाई विद्यालयले विशेष तालिम नै दिनु जरुरी हुन्छ। विद्यार्थीलाई दिनुपर्ने माया र सीकाउनुपर्ने अनुशासन चालकले पिन दिन र सिकाउन सक्छन्। गाडीमा बस्दा एक अर्कालाई सहयोग गर्ने सानो बालकलाई ठूलाले प्राथमिकता दिने जस्ता कुरा चालकबाट बालबालिकाले सिक्न सक्छन्। तर चालकले गाडी विद्यार्थीको अगाडि लगेर चिच्याउँदै ´छिडो बस´ भनेर हप्काएको बाटोबाटोमा देखिन्छ। एक दिन म हात्तिवनको बाटो हुदै सातदोबाटोतिर गएँको थिए। विद्यार्थी बोकेको एउटा बसका चालकले अनियन्त्रित गतिमा ओरालोमा गाडी हुइँक्याउँदा मेरो मोटरसाइकललाई नै ढलाउन खोज्यो। गाडी हुत्तिएकाले भित्र रहेका विद्यार्थी चिच्याए। मैले गाडीको पछाडिपछाडि गएर ´कम्प्लेन´ गर्ने विचार गरे तर आफू नै गाडीको वेगले आत्तिएको थिएँ। त्यसैले बिस्तारै आफ्नै बाटो लागे। खासगरी सातदोबाटोबाट हात्तिवन जाने स्कुले गाडीले बेजोड हाँक्ने र अकस्मात ब्रेक लगाउने गरेको दिनहुँ जसो देखेको छु। यसरी विद्यार्थी बोक्ने गाडी अनियन्त्रितरुपमा चलाउँदा एकातिर ठूलो दुर्घटना हुन सक्छ भने अर्कोतिर विद्यार्थीको मानसिकतामा असर पर्नसक्छ। त्यसलाई विद्यालयका जिम्मेवार व्यक्तिले तुरुन्तै सच्याउनुपर्ने देखिन्छ। अर्को अनौठो के छ भने विद्यालयमा वातावरण सुधार गर्नुपर्छ, वातावरण बिगार्नमा सहरमा थोत्रा गाडीले फ्याक्ने धुँवा पनि प्रमुख कारक हो भनेर विद्यार्थीलाई अध्यापन गराइन्छ। तर आफ्नै विद्यालयको गाडी दशकौं चलेर थोत्रिएर धुँवा उडाउँदै तिनै विद्यार्थीलाई बोक्ने गर्दछ। जुन काम आफूले नै गरिंदैन त्यही विद्यार्थीलाई पढाउने यो कस्तो खालको शिक्षा हो? अभिभावकबाट थुप्रो रकम असुलेर आफू बस्ने भवन र कार्यालय राम्रो बनाउँदैमा विद्यालय राम्रो भइहाल्ने हो र? विद्यालय व्यवस्थित गर्न विद्यार्थीको वातावरण र उनीहरुसँग सम्बन्धित मानिसलाईसमेत सभ्य र संयमी बनाउन जरुरी हुन्छ। आफूले बोल्ने कुरा आफैंले पनि कार्यान्वयन गर्नुपर्छ। विदेशमा यस्ता विद्यालयका बालबालिका बोक्ने गाडीमा सिट बेल्टसमेत राखिएको हुन्छ। नेपालमा अझ भनौ काठमाडौंकै नाम चलेका निजी स्कुलका कति गाडीमा सिट बेल्टको व्यवस्था होला? यसका लागि अभिभावक पनि सचेत हुन जरुरी छ। साथै बाटोमा हिड्ने गाडीका लागि व्यवस्थापन गर्न उभिने ट्राफिक पनि दिनभर सडकमा उभिएर मात्रै पुग्दैन। ट्राफिक नियम उल्लङ्घन गर्ने र अनियन्त्रित गतिमा कुदाउने गाडीका चालकलाई तत्कालै कारबाही गर्ने हो भने पनि धेरै हदसम्म दुर्घटनाबाट जोगिन सकिन्छ। ट्राफिक प्रहरीले बिनाकाममा दुख दिने गरेको त पाइन्छ तर नियम मिच्नेलाई कडा कारबाही भएको देखिंदैन। त्यसैले पनि चालकले ट्राफिक प्रहरीकै अगाडि नियम उल्लङघन गरेर हिड्छन्। विद्यालयका गाडीका बारेमा अभिभावक र विद्यालयका सम्बन्धित सरोकारवालाले तत्कालै छलफल चलाउन जरुरी छ। त्यसैगरी ट्राफिक प्रहरीले पनि बाटोमा चल्ने गाडीलाई नियममा चलाउन कडा कदम उठाउनु पर्दछ। त्यसो भएमा सडक दुर्घटनामा कमी त हुन्छ नै बालबालिका पनि सुरक्षित हुनेछन्।

The writer has done his masters in Anthropology.

No comments: