Pages

Monday, February 13, 2012

भ्यालेन्टाइन डे यसरी मनाउने कि ! - Published in Kantipur Daily

फाल्गुन १ -
प्रत्येक वर्ष भ्यालेनटाइन डे आउँछ, जान्छ । यस दिनमा मूलतः हामीले मायाप्रेमका विषयमा छलफल गर्छौं । कसैको प्रेमले सफलता पाओस् भन्ने अपेक्षा गर्छौं । भ्यालेनटाइन डेलाई मुख्य रूपमा विवाह-बन्धनमा नबाँधिएका युवायुवतीको प्रेम सम्बन्धका बारेमा बढी चासो राख्ने दिनका रूपमा चित्रण गरेको पाइन्छ । हुन पनि भ्यालेनटाइन डेको सुरुवात नै यस्तै प्रसंग र परिवेशबाट भएकाले यस्ता खालका विषयमा बढी चासो देखिएको हुन सक्छ । खासगरी युवापुस्तामा भ्यालेनटाइन डे बढी चर्चामा आउँछ । यो दिवस अहिले कुनै वर्ग, क्षेत्र, देश, संस्कृति नभनी सबै क्षेत्र, जात, संस्कृतिका युवा तथा तन्नेरीलाई आकर्षण गर्न सफल भएको छ ।

अहिले प्रेमलाई भिन्न तथा नवीन तरिकाले पनि प्रयोग गर्न थालिएको छ । विकासमा पनि भ्यालेनटाइन डेको प्रसंग उठाइन्छ । यस दिवसलाई विकासका दृष्टिकोणले पनि हेर्न सकिन्छ ।

विकसित देशमा यस्ता धार्मिक तथा सामाजिक कार्यलाई कोष निर्माणको विशेष दिवसका रूपमा मनाउने गरेको पाइन्छ । जसबाट अविकसित देशका थुप्रै जनताले राहत प्राप्त गरेका छन् । धर्म, संस्कति तथा अन्य दिवसलाई विकासका दृष्टिकोणबाट हेर्ने हो भने यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । हामीले प्रत्येक वर्ष दसैं मनाउँछौं । यस्ता चाडमा हामीले हजारौं रुपैयाँ मासु तथा अन्य परिकार बनाउन मात्रै खर्च गर्ने गर्छौं । साथै, हजारौं रूपैयाँ हामीले विभिन्न किसिमका रक्सी, वाइन, रम किन्नका लागि खर्च गर्ने गर्छाैं । यसरी गरिने ठूलो रकमको एक हिस्सा मात्र हामीले बचाउन सक्यौं भने दुर्गम जिल्लामा खानेपानीबाट वञ्चित जनताका लागि पाइप किन्न, ट्याङ्की बनाउन सहयोग गर्न सक्छौं ।

हामीले मनाउने विभिन्न चाडलाई विकास र गरिब जनतासँग जोडेर हेर्ने हो भने नेपालीले नेपालमै पनि ठूलो धनराशि संकलन गर्न सक्छौं । जसबाट दुर्गम गाउँमा विद्यालय निर्माण हुन सक्छ । स्वास्थ्य चौकीका लागि सानो भवन निर्माण हुन सक्छ । हामीले छुट्याउने सानो रकमको एक हिस्साले गरिब समुदायको मुहारमा हाँसो ल्याउन सक्छ । सरकारी होस् वा गैरसरकारी संस्थाहरूले यस्ता किसिमका दिवसमा जनचेतना जगाउने किसिमका कार्यक्रम सञ्चालन गरेमा त्यसले विकास प्रक्रियामा ठूलो सहयोग पुर्‍याउन सक्छ ।

हामीकहाँ मनाइने विभिन्न खालका संस्कृतिमार्फत कोष निर्माण गरेको पाइन्छ । देउसी-भैलो पनि विगत केही समययता कोष जम्मा गर्ने र यस्तो कोषको रकम विभिन्न विकासका काममा लगानी गर्ने माध्यम बन्न थालेका छ । देउसी- भैलोबाटै गाउँगाउँमा धारा निर्माण, विद्यालय निर्माणका लागि सहयोग, पाटी- पौवा बनाउनेजस्ता काम गरेको पाइन्छ । त्यसैगरी नारायण पोखरेलले सुरु गरेका विभिन्न किसिमका धार्मिक कार्यक्रमबाट विकास निर्माणका कार्य भइराखेका छन् । उनका छोरा विश्वबन्धुले यस्ता कार्यलाई निरन्तरता दिइराखेका छन् ।

नेपाली समाजमा खासगरी हिन्दु संस्कृति तथा अन्य धर्मावलम्बीमा भ्यालेनटाइन डे जस्ता दिवस आउने जाने गर्छन् । यस्ता दिवसलाई उत्पादनमूलक र उपयोगी बनाउनका लागि युवाले भिन्न तरिकाबाट सोच्ने हो भने सानो-सानो सहयोगले विकास निर्माणका काममा ठूलो सहयोग पुर्‍याउन सक्छ । यस्ता दिवसले जातीय तथा मानवीय एकतालाई अझ मजबुत बनाउन सक्छ ।

भ्यालेनटाइन डे दिवसका अवसरमा नेपाली युवा तथा गैरसरकारी वा सरकारी निकायले पनि कोष निर्माण गर्न सक्ने जस्ता उपहार बनाउने हो भने सानो-सानो कोष निर्माण हुन सक्छ । यस्ता उपहार बनाउँदा सम्बन्धित पक्षलाई ध्यानमा राखेर बनाउनु उपयुक्त हुन्छ । यसै दिवसका लागि खर्च गर्ने रकमबाट विभिन्न किसिमका विकासका काम गर्न सकिन्छ । नेपालमा कार्यरत नेपाली गैरसरकारी संस्थाले सधैं विदेशी निकायबाट कोषको अपेक्षा गर्ने भन्दा आफूले पनि भिन्न तरिकाले सोच्ने हो भने केही रकम अवश्य उठाउन सकिन्छ । जसले स्थानीय विकासमा समेत योगदान पुर्‍याउन सक्छ ।

हामीले रक्सी र अन्य विलासिताका लागि खर्च गर्ने ठूलो रकमबाट यस्ता दिवस आउँदा जाँदा मात्रै सानो रकम छुट्याउन सक्यौं भने कुनै न कुनै विकासका कामका लागि पक्कै सहयोग हुनेछ । यही भ्यालेनटाइन डेबाटै युवाले सोच्न थालौं । हामीले पनि विकास प्रक्रियामा सहयोग पुर्‍याउन सक्छौं । आफ्नो प्रेमी वा प्रेमिकालाई भनौं, हामीले खर्च गर्ने ठूलो रकमबाट सानो रकम बचाएर विकास प्रक्रियामा सहयोग गरौं । हयाप्पी भ्यालेनटाइन डे ।

प्रकाशित मिति: २०६८ फाल्गुन २ ०८:५४
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=263886