Pages

Wednesday, October 12, 2011

डाक्टर आफैं संक्रमित - कान्तिपुर दैनिक

काठमाडौ, आश्विन १६ -
नेपालमा अधिकांश अस्पतालले सरसफाइलाई मानव स्वास्थ्यसँग जोडेर हेरेको पाइँदैन । अस्पतालमा अवलम्बन गर्नुपर्ने न्यूनतम सरसफाइको समेत ख्याल गरेको पाइँदैन । अस्पतालमा यत्रतत्र फोहोर फालेको पाइन्छ । बिरामीका आफन्तदेखि चिकित्सकसम्मले सरसफाइमा ध्यान नदिनाले बिरामीमा संक्रमण बढेर रोग निको हुन पनि निकै समय लागेको पाइन्छ । अस्पतालमा न्यूनतम रूपमा चिकित्सकबाट हुनुपर्ने सावधानी अपनाएको पाइँदैन । जस्तो कि काठमाडौंकै अधिकांश अस्पतालमा काम गर्ने चिकित्सकले आफूले बिरामी उपचार गर्ने समयमा लगाउने एप्रोन लगाएर बाहिर धुलो उडिरहेको सडकमा आउने तथा रेस्टुरेन्टमा खाजा तथा खाना खान जानाले झन् संक्रमण बढाउँछ भन्ने बुझेको पाइँदैन । डाक्टरहरू एप्रोन लगाएर क्यान्टिनमा आउँछन् । अस्पतालको हाताभित्र त अलि कम संक्रमण होला । तर टिचिङ अस्पताल महाराजगन्ज वरपरका रेस्टुरेन्ट तथा होटलमा जाँदा अधिकांश डाक्टर एप्रोन लगाएर त्यहाँ आएका हुन्छन् । अस्पतालबाहिर सडकमा पानी जमेको हुन्छ । वषर्ाको समयमा पानीले संक्रमण बढाएको हुन्छ भने पानी पर्न छाडेपछि गाडी हिँड्दा निकै धुलो उडेको हुन्छ । यस्ता सडकमा बाहिर आउँदा डाक्टरले लगाउने एप्रोनमा कति संक्रमण हुने गर्छ । अझ अस्पतालको बाहिरपट्ट िफोहोरको थुप्रो देखिन्छ । त्यसले संक्रमण बढाउनका लागि झन् ठूलो योगदान पुर्‍याउँछ ।

एप्रोनमा टाँसिएका जीवाणुबाट बिरामी पर्न सक्ने असरका बारेमा चिकित्सक आफैं अनविज्ञ हुनु लाजमर्दो अवस्था हो । होटल, रेस्टुरेन्ट, सडकमा आवतजावत गर्दा हुने संक्रमणसहित एक डाक्टर बिरामी जाँच गर्न अस्पतालमा पस्दा हुने बिरामीको क्षतिका लागि कसले जिम्मेवारी लिने ? शिक्षण अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा विद्यार्थीले नै यतिसम्म ख्याल गर्दैनन् भने ग्रामीण भेगका अस्पतालको हविगत कस्तो होला । अस्पतालमा डाक्टरले गर्नुपर्ने सामान्य किसिमको पनि सरसफाइ गरेको पाइँदैन । आईसीयूजस्तो बिरामीलाई अति सुरक्षा र संक्रमणविहीन अवस्थामा राख्नुपर्ने स्थानमा बिरामीका नातेदार वा कुरुवा जुत्ता लगाएर भित्र जाने गरेको पाइन्छ । अस्पतालको चर्पी हेर्ने हो भने उस्तै दुर्दशा छ ।

डाक्टरले घरबाट लगाएर आउने कपडामा समेत संक्रमण हुन सक्छ । त्यसका लागि अस्पताल प्रशासनले डाक्टरले अस्पतालमा लगाउने कपडामा समेत निगरानी राख्नुपर्ने हुन्छ । कपडालाई निसंक्रमित राख्नका लागि गर्नुपर्ने सावधानीका बारेमा चिकित्सकलाई अभिमुखीकरण तालिम दिँदा पनि उपयुक्त हुन सक्छ । जुनसुकै पेसा भए तापनि मानिसका लागि उत्ति नै महत्त्वपूर्ण हुने गर्छ । आफूलाई ठूलो, राम्रो पेसामा लागेको प्रतिष्ठा देखाउनका लागि एप्रोन लगाएर अस्पतालबाहिर आउँदा हुने क्षतिका बारेमा चिकित्सक आफैं सावधान हुनुपर्ने हो । शिक्षण अस्पताल महाराजगन्ज त एउटा उदाहरण मात्रै हो । चाहे सरकारी होस् वा निजी रूपमा सञ्चालन भएका अस्पताल होऊन्, चिकित्सक एप्रोनसँगै होटल, रेस्टुरेन्ट वा सडकमा आएको पाइन्छ । यसका लागि स्वास्थ्य विभाग वा स्वास्थ्य मन्त्रालयले पनि कुनै किसिमको आचारसंहिता बनाएर यस कार्यलाई तुरुन्तै नियन्त्रण गर्नुपर्ने देखिन्छ । साथसाथै अस्पताल प्रशासनले पनि यस्ता कार्यलाई निरुत्साह गर्नका लागि चिकित्सकलाई सावधान बनाउनुपर्ने अवस्था छ । अस्पतालमा बिरामी कुरुवादेखि डाक्टरबाट हुने लापरबाहीका कारण कुनै पनि बिरामीले जीवनभर सास्ती बेहोर्नु नपरोस् भन्नका लागि तुरुन्तै सम्बन्धित निकायले कुनै किसिमको पाइला चाल्न सकेमा यसबाट भविष्यमा हुने खतरा टार्न सकिन्छ ।

प्रकाशित मिति: २०६८ आश्विन १७ ०८:४६
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=253712