Pages

Wednesday, February 16, 2011

भ्यालेन्टाइन डेको प्रतीक्षा

काठमाडौ, माघ २८ -
अमृत भण्डारी
भ्यालेन्टाइन डे आउनुभन्दा एक महिना पहिले नै बुटवलका आशिस अधिकारीले आफूलाई मनपर्ने केटीलाई कसरी प्रस्ताव राख्ने भन्ने बारेमा निकै सोचे । साथीलाई सोधे । धेरै साथीले उनलाई मोबाइलबाट एसएमएस गरेर केटीको भावना बुझ्न सल्लाह दिए । तर उनले आँट गर्न सकेनन् । अन्ततः एक वर्षदेखि मनपराउने केटीलाई १४ फेब्रुअरीमै एसएमएस गर्ने र प्रस्ताव राख्ने मुडमा छन् उनी । हुन त उनीसँग केटीको इमेल ठेगाना पनि छ । तर उनलाई एक वर्षदेखि मनपराउने केटीलाई प्रस्ताव राख्दा सम्बन्ध बिग्रन सक्ने डर पनि छ । त्यसैले उनले न इमेल नै पठाउन सके, नत एसएमएस गर्नसके । भन्छन्- "यसो कुरा गर्दा त उसले पनि मलाई मनपराउँछे जस्तो लागेको छ, तर शतप्रतिशत विश्वस्त छैन । त्यसैले कम्तीमा भ्यालेन्टाइन डेका दिन प्रस्ताव राख्दा ऊ रिसाउने छैन भन्ने लागेको छ ।"

एसएमएस, इमेलबाट सम्पर्क गरी पहिले मनसाय बुझेर प्रेम प्रस्ताव गर्ने प्रचलन अहिले बढेर गएको छ । तर जति केटाहरू भ्यालेन्टाइन र प्रेमका बारेमा खुल्ने गरेका छन्, त्यति केटीहरु खुल्नसकेका छैनन् । यद्यपि केही वर्ष पहिलेका तुलनामा भने उनीहरू पनि विस्तारै खुल्दैछन् । केही वर्ष अगाडिसम्म सहरमा मात्र केन्दि्रत भ्यालेन्टाइन डेको संस्कृति अहिले गाउँ-गाउँमा पनि पुगेको छ । गाउँका युवायुवती पनि प्रेम प्रस्तावका लागि भ्यालेन्टाइन डेकै प्रतीक्षामा बसेको पाइन्छ ।

अर्घाखाँची वाङ्गलाका युवराज भण्डारी भन्छन्-मायाप्रेम गर्न नै जानिएन । तर सबै साथीले भ्यालेन्टाइन डेका दिनमा प्रस्ताव राख्न उपहार किन्ने, कार्ड खोज्दै हिँड्दा भने मलाई रमाइलो नै लाग्छ । वास्तवमा भ्यालेन्टाइन डे विवाह गरेका र नगरेका दुवैका लागि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ । विवाहितहरूका लागि पनि उक्त दिनमा घुम्न जाने, माया साटासाट गर्ने अवसर बनेको छ भने प्रेम गर्नेका लागि त झन् प्रेमलाई गाढा र दिगो राख्नका लागि यो दिनलाई महत्वपूर्ण मान्न थालिएको छ । यसैगरी विवाह र प्रेममा नपरेकाका लागि नयाँ सम्बन्ध विस्तार गर्न, प्रेममा बाँधिन, मनपरेकालाई प्रस्ताव राख्न यस दिनले अवसर प्रदान गरेको छ ।

युवायुवतीले विदेसी संस्कृतिलाई रमाइलोका लागि निसंकोच अपनाउने लचकता देखाउँछन् । विश्वव्यापीकरणको युगमा संस्कृति पनि कुनै देश, क्षेत्र वा समुदायमा सीमित रहेको छैन । वास्तवमा भ्यालेन्टाइन डे मनाउने चलनले मायाप्रेम र भावनात्मक सम्बन्धको दायरालाई भूगोलले पनि सीमित राख्न सक्दैन भन्ने सन्देश पनि दिएको छ । विश्वव्यापीकरणसँगै विभिन्न देशमा मनाइने परम्परा र त्यससँग जोडिएका विषयवस्तुलाई एक ठाउँबाट अर्कोमा पुर्‍याउनका लागि प्रविधिको विकासले पनि सहयोग गरेको छ ।

प्रविधिले मायाप्रेमको परम्परागत प्रक्रियालाई समेत परिवर्तन गरेको छ । गाउँ-गाउँमा बाटोमा ढुकेर आफूलाई मनपर्ने साथीलाई लेखेको चिठी दिने, हुलाकबाट चिठी पठाउने र हप्तादिनसम्म उसको प्रतीक्षामा बस्ने दिनलाई सञ्चार र प्रविधिको विकासले कायापलट नै गरिदिएको छ । खल्तीमा राखेको मोबाइलबाट एक मिनटमै सन्देश प्रवाह हुने र सोधिएको प्रश्नका बारेमा तुरुन्तै जवाफ आउने भएकाले युवायुवतीका लागि प्रतीक्षामा बस्नु नपर्ने भएको छ । आफूलाई मनपरेको साथीलाई फेसबुकमा हेर्न पाइने उसको प्रोफाइलबाट उसका बारेमा जानकारी लिन पाइने साथै नचिनेको मानिसलाई पनि साथी बनाउन पाइनाले धेरै युवायुवतीका लागि प्रेम गर्न सहज भएको छ । सञ्चारले दिएको यति धेरै सुविधाको उचित फाइदा लिनु त स्वाभाविक नै हो । तर यसबाट विभिन्न किसिमका अपराध पनि भइरहेकोले युवायुवती बढी चनाखो हुनु जरुरी छ । प्रविधिलाई विवेकशील भएर अपनाउन जानेमा यसले फाइदा नै दिन्छ । तर यसको अनुचित उपयोगले अपराध बढ्न सक्छ भन्नेमा युवायुवती सजक हुनुपर्छ ।

वास्तवमा प्रेम आत्माभित्रको एक अनुभव हो । यसले मानिसको जीवनमा धेरै किसिमका परिवर्तन ल्याउन सक्छ । प्रेममा परेका मानिसका लागि सबै कुरा सम्भव भएको महसुस हुन्छ । प्रेमलाई पनि परिपक्व भएर हेर्न र सम्हाल्नसकेमा यसबाट मानिसले धेरै किसिमका फाइदा लिनसक्छ । त्यसका लागि हाम्रो सामाजिक परिवेश, संस्कृति तथा यससँग सम्बन्धित विषयमा व्यक्ति बढी नै चनाखो हुन जरुरी छ । प्रेम प्रस्ताव राख्दाका लागि एक रोमान्टिक क्षण हुनसक्छ, तर प्रेमका लागि गरिने वाचा तथा कसमलाई व्यवहारमा उतार्न निकै कठिन हुने गर्छ । प्रेम गर्नका लागि गरिने अव्यावहारिक वाचा तथा कसमले फक्रिँदो प्रेम बीचमै ओइलाउन सक्छ ।

भावनामा डुबेर गरिने वाचाको असर जीवनभर नकारात्मक पर्न सक्छ । बुझ्नुपर्ने कुरा के हो भने प्रेमी-प्रेमिका भएपछि प्रेमलाई विवाहमा परिवर्तन गर्नका लागि एकआपसका बारेमा राम्रोसँग बुझ्नुपर्छ । यसका लागि आफ्ना बारेमा झूट कुरा गरेर प्रेमको विकास गर्नु घातक हुनेछ । यसरी विकसित भएको प्रेमले अन्ततः ठूलो समस्या उत्पन्न गर्न सक्छ । र कालान्तरमा एकले अर्कोलाई आरोप लगाउने, झगडा गर्ने र प्रतिशोधको भावना लिएर बाँच्नुपर्ने हुन्छ ।

तसर्थ भ्यालेन्टाइन डेका दिनमा प्रेम प्रस्ताव राख्न जति सजिलो छ, त्यसबाट विकसित प्रेमका सम्बन्धलाई बचाइराख्न उत्तिकै जटिल पनि छ भन्ने बुझ्न जरुरी छ । अहिले युवायुवतीलाई प्रेमको सुरुवात गर्नका लागि जसरी प्रविधिले सहयोग र सुविधा प्रदान गरेको छ, तर प्रेम सम्बन्धलाई बचाउन उत्तिकै जटिल पनि छ ।

प्रकाशित मिति: २०६७ माघ २९ ०९:२४ Kantipur Daily

भ्यालेन्टाइन डेको प्रतीक्षा