Pages

Sunday, January 18, 2009

अपराधीको चंगुलमा माओवादी-From-http://ekantipur.com/kolnepalinews.php?nid=175913

अमृत भण्डारी
राणाकालीन राज्य व्यवस्था हटाउँदा जनतालाई विश्वास दिलाइयो कि अब बन्ने सरकारले नयाँ नेपालको सिर्जना गर्नेछ । पञ्चायती व्यवस्थाको स्थापना भयो । सीमित व्यक्तिले देश बिगारेको आरोप लगाइयो । पुनः जनता परिचालित गरियो र पञ्चायत व्यवस्थालाई हटाइयो । अनि सत्ताको साँचो राजनीतिक पार्टीले समाते । प्रजातन्त्रको समशब्द खोजेर लोकतन्त्र ल्याउने भनेर हल्ला चलाइयो । फेरिे जनता परिचालित भए ।
यति हुँदा पनि जनताको जीवनस्तरमा कुनै गुणात्मक वा मात्रात्मक परिवर्तन हुन सकेको छैन । परिवर्तन गर्नेहरू पुरानो सत्ताका विरासतमात्र बन्न पुगे । परिवर्तित व्यवस्थालाई परिचालन गर्नेबाट तिनै तानाशाहको सहयोग मागियो र उनीहरूकै चंगुलमा राजनीति फस्यो । २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसको दबदबा रह्यो र पुराना सत्ताका अवशेषले कांग्रेसको चाकडी गरे, हो मा हो मिलाए र कांग्रेसको सिद्धान्त एकातिर, मुलुक सञ्चालन गर्ने परिपाटी अर्कैतिर पारिदिए । कांग्रेस तिनै मण्डले र तानाशाहको इसारामा चल्यो । त्यसबाट गरिएको आशामा तुसारापात भयो । परिणामस्वरूप देश दस वर्षको युद्धमा होमियो ।
विगतबाटै नेपालका राजनीतिक पार्टीहरू पूर्वशासकबाट परिचालित भए र जनताको इच्छाबमोजिम राज्यसत्ता सञ्चालन गर्न सकेनन् । पटकपटक राजनीतिक पार्टी मुलुकको भलो नचाहने समूहको घेरामा बाँधियो । त्यसको क्रमभंग राजाको अवशेषपछि हुने र माओवादीबाट जनताका पक्षमा काम हुने आशामा नेपाली जनताले एकपटक फेरि क्रान्तिकारी विचारधाराबाट अगाडि बढेको माओवादीलाई साँचो सुम्पिए । खालि देसलाई परीक्षणको स्थल बनाउने काम भयो ।
अहिलेको व्यवस्थामा जनताको आशाको मापदण्ड अधिक थियो । तर माओवादीका क्रियाकलापले विगतका राजनीतिक दलको निरन्तरताको छनक दिन थालेको छ । पार्टी प्रवेश गर्नेको लहर माओवादी सत्तामा जाने देखिएपछि बढ्दै गयो ।
कानुनी राज्यलाई मान्ने हो भने यस्ता गतिविधिमा लागेका मानिसलाई पार्टी प्रवेस गराउनुको कुनै औचित्य नै छैन । आपराधिक गतिविधिमा लागेको गिरोहले बदनाम गरेर माओवादीलाई सिध्याउने छन् । यस्ता व्यक्तिको संरक्षण गरेर मुलुकलाई कब्जामा लिने दिवास्वप्नमा माओवादी छ भने अब त्यो सपना नदेखे हुन्छ । जनताको इच्छाबमोजिम न्याय र कानुनको राज्यमा माओवादीले विश्वास गर्न सक्नुपर्दछ । र जोसुकै भए पनि अपराधीलाई कारबाही गर्न पछि पर्नुहुँदैन, अनि मात्र जनताको शक्तिलाई जित्न सकिन्छ ।
राजनीतिलाई गुन्डा र अपराधीबाट सञ्चालन गर्ने विगतको सोचबाट माओवादी पर हट्नु जरुरी छ । पार्टीकै व्यक्तिबाट आपराधिक गतिविधि बढ्नुको कारण माथि उल्लिखित जमातलाई माओवादीमा प्रवेश गराउनुको परिणाम हो । विगतमा गाउँमा हुने गरेका अत्याचारविरुद्ध माओवादीले न्याय दिलाउँदा जनता खुसी भएकै थिए । विगतमा कहिले रक्सीको विरोध गर्ने, कहिले महिला अधिकारका लागि अन्यायमा परेका महिलाका लागि सहयोग पुर्‍याउँदा विश्वास पनि बढ्न थालेको थियो । तर आफैं सत्तामा बसेको समयमा तीव्र रूपमा बढेको दण्डहीनता र अपराधीको पक्षपोषण हुन थालेपछि त्रास बढेको छ ।
यस्तै परिवेश रहेमा बाहिरी हस्तक्षेप हुन सक्दैन भन्न सकिँदैन । कतिको हत्या गर्ने र माफी माग्दै जाने अनि अपराधीलाई खुला रूपमा हिंड्न दिने ? माओवादीले विचार गर्ने समय गुजि्रन थालेको छ । बेलैमा बुद्धि पुर्‍याएर समस्याको समाधान नभएमा
विकराल स्थिति सिर्जना हुनेछ । अनि मुलुक पुनः उनै हुक्का चिलिमेको हातमा जानेछ ।
प्रधानमन्त्रीजस्तो मानिसमा बोलीमा शालीनता हुन जरुरी छ । व्यक्तित्व र विचारलाई जथाभावी प्रदर्शन गर्ने हो भने आफ्नै अस्तित्व जोखिममा पर्ने छ । धेरै भाषण र सभा-समारोहमा सहभागिता र गलाभरिको माला देखाउँदैमा व्यक्तित्व विकास भएको मानिदैन । मार्गचित्रका आधारमा विशेषज्ञको सल्लाह लिएर मुलुकलाई अगाडि बढाउनुको विकल्प छैन ।

The Writer has done his Masters in Anthropology.