Pages

Sunday, December 25, 2011

बङ्लादेशका इन्फो लेडीहरू

अमृत भण्डारी
बङ्लादेशको राजधानी ढाकादेखि झण्डै तीन सय किलोमिटर उत्तरपश्चिममा पर्ने गाइबन्ध जिल्लाका पाँच ग्राम युनियन परिषद्का -नेपालमा गाविस भनेझैं त्यहाँ ग्राम युनियन परिषद् भनिदो रहेछ झण्डै ६० वटा गाउँमा ग्रामीण सूचना कार्यक्रम अन्तर्गत इन्फो लेडीको अवधारणा अघि बढाइएको छ । गत मार्च महिनामा यस पङ्क्तिकारले ढाकादेखि विभिन्न जिल्ला उपजिल्ला हुँदै सो जिल्लाको पनि भ्रमण गर्ने अवसर पाएको थियो । उक्त कार्यक्रमको प्रभावकारिता र त्यसले स्थानीय युवामा दिलाएको अवसर निकै रोचक रहेछ । डिनेट भन्ने संस्थाले सहजीकरण गरेको त्यस कार्यक्रमलाई साघाटा उपजिल्लामा रहेको उद्ययन स्वाबलम्बी संस्थाले सञ्चालनमा सहयोग पुर्‍याउँदै आएको छ । त्यसका लागि विभिन्न दाताले सहयोग गरेका छन् ।

त्यस उपजिल्लामा १० जना मूलत एसएससी -नेपालमा एसएलसी भनेजस्तो) पास गरेका, कोही स्नातक गर्दै गरेका त कोही भर्खर आईए अध्ययनमा लागेका युवतीलाई स्वास्थ्य, कृषि, कानुन सम्बन्धी जानकारी, सूचनाको अधिकार, पशुपालन, माछापालनलगायतका विभिन्न विषयमा तालिम दिइएको छ । कार्यक्रमले मुख्यरूपमा महिलालाई अवसर प्रदान गर्ने लक्ष्य लिएको र समुदायमा पनि बढी भन्दा बढी महिलाका समस्याको सम्बोधन होस् भन्ने चाहना अनुरूप इन्फो लेडी कार्यक्रममा युवतीलाई प्राथमिकता दिइएको डिनेट संस्थाका कार्यक्रम सहायक गोपाल कुमार डेइले बताए ।

यसरी तालिम लिएका लेडीले खासगरी युवा, बालबालिका, महिला, महिला समूह तथा किसान र अन्य पेशामा लागेका समुदायका बासिन्दाका समस्या समाधानमा सहयोग गर्दै आएका छन् । ती समस्या समाधानका लागि संस्थाले यी लेडीलाई साइकल, छाता, मिनी ल्यापटप, मोडेम, क्यामरा, पि्रन्टर, तौल नाप्ने, मधुमेह नाप्ने, रक्तचाप जाँच्ने मेसिन र मोवाइल फोन लगायतका सामग्री उपलब्ध गराइएको छ । यसरी तालिम तथा सामग्री पाएका लेडीमा ज्ञान, सीप तथा सूचनाले समुदाय परिवर्तन गर्न सकिन्छ भन्ने अटल विश्वास छ । आफूले पाएको सीप र ज्ञानलाई परिवारका अन्य सदस्यलाई समेत दिएर उनीहरूले नयाँ इन्फा म्यानपावर उत्पादन गर्नका लागि पनि सहयोग पुर्‍याएका छन् । ती इन्फो लेडीले विवाह तथा अन्य कारणले गाउँ छाड्न परेमा परिवारका अन्य सदस्यले समेत गाउँमा सेवा प्रदान गर्न सक्ने भएका छन् । त्यसले कार्यक्रमलाई दिगो गराउनका लागि सहयोग पुर्‍याएको छ ।

प्रत्येक दिन आˆनो पढाइको समय व्यवस्थापन गरेर ती लेडीहरू समुदायमा उत्पन्न समस्या समाधानका लागि आवश्यक सामग्री आफ्नो साइकलमा राखेर समुदायमा पुग्ने गर्दछन् । स्थास्थ्य सम्बन्धी विभिन्न किसिमका सीडी, अडियो भिज्युयल सामग्री बोकेर समुदायमा पुगी आफ्नो ल्यापटपबाट देखाउने गर्दछन् । खासगरी मातृशिशु, गर्भावस्थामा ध्यान पुर्‍याउनुपर्ने जानकारी गाउँ गाउँमा दिने गर्दछन् । रक्तचाप जाँच्ने मेसीनबाट रक्तचाप जाचेपछि एक जनाबाट पाँच टाका लिने गर्दछन् । रक्तचाप जाँचेपछि कसैको रक्तचाप अत्यधिक बढेको पाइएमा तुरुन्तै अस्पताल जानका लागि अनुरोध गर्दछन् । कहिलेकाहीँ त आफ्नो सम्पर्कमा रहेका डाक्टरलाई मोवाइल फोनबाटै कुरा गरेर बिरामीको नाम लेखाइदिने र समय मिलाउने काम समेत इन्फो लेडीले गर्दै आएका छन् । त्यसैगरी मधुमेहको जाँच गरेर कसैमा यसका लक्षण देखिएमा नजिकको अस्पताल वा डाक्टरसँग सम्पर्क गर्नका लागि सिफारिस गर्ने गरेको रिथि अक्तर, इन्फो लेडी बताउँछिन् ।

संस्थाले उपलब्ध गराएको मोडेमबाट ल्यापटपमा इन्टरनेट चलाउनसमेत सकिन्छ । यसरी इमेलबाट सम्पर्क गरी विदेशमा गएका गाउँबासीका छोराछोरीलाई समाचार पठाइदिने, स्काइपीबाट कुराकानी गराउने जस्ता सुविधा साघाटा उपजिल्लाका बासिन्दाले पाएका छन् । यस्ता सुविधा घरघरमा पुर्‍याउने इन्फो लेडिले न्यूनतम शूल्कमा गाउँबासीलाई सुविधा उपलब्ध गराउछन् । इन्फो लेडी सीमा अक्तर भन्छिन्-"हामीले केही निशुल्क सेवा प्रदान गर्दै आएका छौ भने केही सेवा उपलब्ध गराएवाफत् शुल्क पनि लिने गरेका छौं । जसबाट सुरुका दिनमा हामीले मासिक दुई हजार टाका कमायौ भने अहिले तीन देखि पाँच हजार टाकासम्म कमाइ हुने गरेको छ ।"

सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा भएको विकासको विवेकपूर्ण फाइदा उठाउदै त्यहाँका इन्फो लेडीले गरिब समुदायका हजारौँको घरघरमा विभिन्न किसिमका सूचना दिँदै विश्वसँग जोडेका छन् । साथै अक्तर सम्झन्छिन्-"गाउँगाउँमा जाँदा थुप्रै मानिस विभिन्न किसिमको रोगले ग्रसित पाउँछु । उनीहरूको रक्तचाप बढेको हुन्छ । मधुमेहको लक्षणसमेत पाइन्छ, त्यस्ता मानिसलाई गाउँमा कुनै सेवा सुविधा उपलब्ध छैन । उनीहरूको सेवा गर्न र अस्पतालसम्म पुर्‍याई जीवन बचाउन पाउँदा खुसी लागेको छ ।" सुरुका दिनमा समाजले यी लेडीको सेवालाइ त्यति वास्ता नगरे पनि अहिले उनीहरूको सेवाबाट गाइबन्ध जिल्लाका मानिस निकै खुसी भएका छन् । त्यहाँका इन्फो लेडीहरू समाज परिवर्तन र सेवा प्रदान गर्नका लागि नेतृत्व दिन थालेका छन् । समाजले अहिले उनीहरूलाई प्रशंसा गर्न थालेको छ भने उनीहरूको सेवालाई स्वीकार पनि गरिसकेको छ ।

गाउँका घरघरमा पुग्ने त्यस्ता लेडिले मानिसको मात्र उपचार गर्दैनन्, कृषि तथा पशुपालन पेशामा हुने समस्याका बारेमा बनेका विभिन्न सिडि, भिसिडिसमेत बोकेर आफ्नो ल्यापटपमा देखाउने गर्दछन् । अक्तर भन्छिन्-"हामी गाउँगाउँमा जान्छौ, समूहमा रहेका महिला तथा पुरुषलाइ कृषि तथा पशुपालनका क्रममा भएका समस्याका बारेमा सोध्छौ । अनि हामीसँग भएको जानकारी उपलब्ध गराउछौ । हाम्रो सूचनाले समाधान नहुने भए तुरुन्त कृषि तथा पशु सेवा विज्ञसँग सम्पर्क गरी समस्याको समाधान गर्न सहयोग गर्छौं ।"

अहिले यस्ता इन्फो लेडीलाई गाउँघरमा नचिन्ने कोही छैन । उनीहरूसँग भएको मोवाइल फोनले सेवा पुर्‍याउन निकै सहयोग गरेको छ । कुनै समस्या पर्नेवित्तिकै गाउँलेले उनीहरूको मोवाइलमा फोन गर्दछन् । त्यसपछि आफ्नो साइकलमा आफ्ना सामग्री बोकेर इन्फो लेडी गाउँलेको सेवामा पुगिहाल्छन् । 'प्राक्टिकल एक्शन'ले पनि आफ्नो प्राविधिक ज्ञान सेवा कार्यक्रममार्फत ग्रामीण किसानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । जुन कार्यक्रम नेपालमा 'रिड नेपाल' र 'प्राक्टिकल एक्शन'को साझेदारीमा कैलाली, बाँके, चितवन र नवलपरासीमा सञ्चालन भैराखेको छ ।

गाइबन्ध क्षेत्रको यात्राका अवसरमा ६ जना इन्फो लेडीसँग कुरा गर्ने मौका मिलेको थियो । कुरा गर्ने क्रममा उनीहरूमा देखिएको साहस, उत्साह र सेवाले नेपालमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्न सरकारले कुनै सक्रियता देखउला कि भन्ने कुराले मनमा तर्क वितर्क उठ्नु स्वाभाविकै हो । नेपाल र बङ्लादेशको गरिबी पनि मिल्दोजुल्दोखालको भएकाले इन्फो लेडीको अवधारणालाई नेपालले पनि अवलम्बन गर्नसक्ने हो भने दुर्गम क्षेत्रका बासिन्दाले अलि सहज महसुस गर्न पाउने थिए । बङ्लादेशको जमिन अलि बढी उत्पादन हुने खालको रहेकाले त्यहाँ सूचना मात्रले पनि निकै सहयोग गर्न सक्ने रहेछ । नेपालमा पनि दुर्गम गाउँका बासिन्दा आफूले गर्ने कृषि तथा पशुपालनबाट आवश्यक मात्र फाइदा उठाउन सकिरहेका छैनन् । महिलाले असुरक्षित रूपमा बच्चा जन्माउने गर्दछन् । भएका स्वास्थ्य चौकीमा पनि राम्रो सुविधा छैन । कहिलेकाहीँ त बच्चा जन्माउने क्रममा आमा तथा शिशु दुबैको मृत्यु हुने गरेको छ । समयमै गर्भमा रहेको बच्चाको स्वास्थ्य र आमाको स्वास्थ्यका बारेमा गाउँमै उपचार र सूचना पाएमा अकाल मृत्युबाट हजारौं महिलाले ज्यान गुमाउनु पर्दैन थियो होला । इन्फो लेडीको अवधारणालाई नेपालमा पनि अवलम्बन गर्ने हो भने यसले केही राहत दिन सक्थ्यो कि ?
The article can be read in the following link of Gorkhapatra Daily.
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=61383&cat_id=18