Pages

Tuesday, February 21, 2012

सामाजिक उत्तरदायित्व खोइ ?

अमृत भण्डारी
The article is published in Gorkhapatra Daily on 20 Feb 2012 and can be read in the link - http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=63719&cat_id=18
१८ औँ र १९ सौँ शताब्दीमा अमेरिकामा नागरिक उत्तरदायित्व भनेको केही जनताले जनताकै हितका लागि कुनै पनि काम गर्नु हो भन्ने बुझिन्थ्यो। त्यो चाहे आगलागीका क्रममा स्वयं सेवा प्रदान गर्ने होस् वा अन्य यस्तै कार्य जसमा जनता स्वयं सेवा गर्ने भन्ने धारणाबाट अभिप्ररित हुने गर्दथे। सन् १९६० को दसकमा सामुदायिक र नागरिक उत्तरदायित्व भन्ने विषय अमेरिकामा निकै प्रचलित थिए। त्यतिबेला शीतयुद्ध र युद्धका अन्य चुनौती सबैका लागि सामूहिक त्रास बनेका थिए जसबाट जोगिन अमेरिकन नागरिक स्वतस्फूर्त एकतामा बाँधिएका थिए।

नेपालमा भने सामाजिक उत्तरदायित्वको विषयले कहिले पनि प्राथमिकता पाएको देखिँदैन। देशप्रेमको भावनाबाट निर्देशित भएर लाग्ने नेतृत्वको अभाव नेपालले सदियौंदेखि भोग्दै आएको छ। वास्तवमा विश्वका अधिकांश देश एक न एकपटक विभिन्न किसिमको सङ्क्रमणकालीन अवस्थाबाट गुजि्रएको पाइन्छ। हाम्रै छिमेकी देश भारत लामो समयसम्म बि्रटिसको उपनिवेशमा बस्न बाध्य भयो। त्यही समयमा भारतले महात्मा गान्धी जस्ता नेता जन्माउन सफल भयो र उनकै नेतृत्वको कुशलता र क्षमताले भारत स्वतन्त्र हुन पुग्यो। महात्मा गान्धीबाटै अभिप्रेरित भएका अमेरिकाका नागरिक मार्टिन लुथर किङले अमेरिकामा काला जातका मानिसमाथि हुने भेदभावमा गान्धीकै विधि अपनाएमा काला जातिको अधिकार संरक्षण हुनसक्ने कुरामा विश्वस्त भए।

किङ मूलतः गान्धीको एक भनाइबाट निकै प्रभावित थिए। गान्धीले शान्तिपूर्ण अभियानमा भनेका थिए-"हाम्रो दुःख र वेदनाबाट हामीले बि्रटिसलाई हामीमाथि अन्याय भएको महसुस गराउनेछौँ।" अर्थात् आफ्नो हक अधिकार खोसिएको, आफू सामान्य नागरिक अधिकारबाट वञ्चित भएको र यसले गर्दा देशका जनताले एक पीडादायक जीवन गुजारेको भन्ने कुरा बि्रटिसलाई महसुस गराउनुपर्दछ भन्ने ध्येय गान्धीले राखेका थिए। यसै भावनाबाट प्रेरित भएर भारतका जनताले नागरिक अवज्ञा अभियानबाट भारतलाई बि्रटिसबाट मुक्त बनाएर एक स्वतन्त्र राज्य बनाउन सफल भए। मार्टिन लुथर किङ पनि लामो समयसम्म अमेरिकाका काला जातका नागरिकको हक र अधिकारका लागि नागरिक स्वतन्त्रता अभियानमा लागे। न्ाागरिक अधिकारकर्मी किङले नागरिक उत्तरदायित्वका बारेमा त्यहाँ निकै ठूलो योगदान पुर्‍याउन सफल भए।

त्यसैगरी अमेरिकाका तेस्रो राष्ट्रपति थोमस जेफरसनले स्वतन्त्रताको घोषणा नामक पुस्तक लेखे। जसमा उनले खोस्न नसकिने जीवन अधिकार र खुसीको अनुसरणलाई सुनिश्चित गरेका छन्। नागरिक उत्तरदायित्वमार्फत नागरिकले आफ्नो अधिकारको प्रयोग गर्न पाउँछन् भन्दै अरूको अधिकारलाई पनि आदर गर्नुपर्नेमा उनले जोड दिएका छन्। यसरी देश विविध घटनाले विश्व परिवेशमा पनि एक न एक व्यक्तित्व जन्माएको छ। जसले राष्ट्र तथा मानव सभ्यताको अस्तित्व बचाइराख्न कार्यमा सफलता पाएका छन्। तर दुर्भाग्य नै भन्नुपर्दछ अहिलेसम्म नेपालले यस्तो व्यक्तित्वको जन्म दिनसकेको छैन।

सामाजिक उत्तरदायित्व वहन गर्नमा देशका शिक्षित वर्ग, नेतृत्व तथा राजनीतिकर्मीको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहन्छ तर यस्तो दायित्व वहन गर्न त्यहाँको सरकार, राजनीतिक परिवेश तथा मानिसको अन्तरनिहित धारणा र सोचले पनि ठूलो भूमिका खेल्न सक्दछ। नागरिक हुनु र असल नागरिक हुनु भनेका दुई फरक क्रियाकलाप हुन् किनकि असल नागरिक बन्न हामीमा केही अतिरिक्त जोस र जाँगर हुनु आवश्यक हुन्छ। मानिस सामान्यतः स्वार्थले नै निर्देशित हुन्छ र हुनु पनि पर्दछ। तर असल नागरिकमा त्यो स्वार्थको मात्रा केही कम हुने गर्दछ। जसमा उसले सामाजिक आवश्यकताको महसुस गर्दछ। यसको अर्थ एक नागरिकले आफूसँग भएको सबै समय स्वयं सेवामा बिताउनुपर्दछ भन्ने होइन तर पनि आफूसँग भएको समयको केही मात्र समयलाई कसरी सामाजिक काममा लगाउँदा आफ्नो समाजको भलो हुनसक्छ भन्ने कुराको सोचाइ राख्नैपर्छ। यसो गर्न सकेमा मात्र समाजको उत्थान हुन्छ।

प्रजातन्त्रको सफल कार्यान्वयनका लागि पनि नागरिक उत्तरदायित्वले उल्लेखनीय भूमिका खेल्न सक्दछ। नागरिक उत्तरदायित्वले कुनै पनि देशका नागरिकलाई निश्चित किसिमको मूल्यमान्यतामा बाँधेको हुन्छ तर जब मानिसले विवेक गुमाउँछ, उसका अगाडि सामाजिक मूल्यमान्यताले कुनै अर्थ राख्दैन। एक नागरिकको भूलले सानो समुदाय वा समाजलाई नराम्रो असर पार्न सक्दछ तर एक नेता वा नेतृत्वको भूलले देशलाई अनिश्चयको बन्दी बनाउन सक्छ भन्ने भन्ने कुरा नेपालमा राजनीति गर्ने नेताले बुझ्नु जरुरी हुन्छ।

नेपालमा नागरिक उत्तरदायित्वको महसुस हराउँदै जान लागेको छ। यसले देशको भविष्य कालान्तरमा अराजक, उच्छृङ्खल र अस्तव्यस्त बनाउन सक्छ। नागरिक उत्तरदायित्व बहन गर्नका लागि राज्यले सकारात्मक भूमिका निर्वाह गर्न र नेतृत्वले आफैँबाट यस्तो उदाहरण पेस गर्न सकेन भने त्यसको परिणाम देशका लागि घातक बन्न सक्छ। नेपालको परिपे्रक्ष्यमा पनि अहिले नै यस्ता कार्यमा लाग्न ढिलो भइसकेको छ। अझ ढिलो भएमा यसको नतिजा निकै भयावह हुनेछ। त्यसैले यसतर्फ सबैले समयमै सजगता अपनाउनु मनासिव हुनेछ।
The writer can be reaced on - abamritofficial@gmail.com

No comments: