Pages

Monday, January 30, 2012

पशु स्वास्थ्य कार्यकर्ताको अवस्था

अमृत भण्डारी
नेपालका अधिकांश किसान पशुपालन र कृषि व्यवसायमा संलग्न छन् । जीविकोपार्जनको मुख्य पेसा कृषि भएका कारण सरकारले लामो समय यता विभिन्न किसिमका कार्यक्रममार्फत् किसानलाई सेवा तथा सहयोग पुर्‍याउने कोषिस गरेकोछ । सरकारीस्तरबाट पशु सेवा विभागले ग्रामीण किसानलाई पशुपालन व्यवसायमा सहयोग पुर्‍याउने उद्देश्यले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको अवधारणा अगाडि बढाएको छ । त्यस्तै अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाले पनि आ-आफ्ना कार्यक्रममार्फत् ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको तालिम उपलब्ध गराउदै आएका छन् ।

पैतीस दिनको ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको तालिम लिएका यस्ता थुप्रै युवा गाउँगाउँमा छन् । जसले पशुको प्राथमिकदेखि अन्य उपचार गर्न सक्ने क्षमता राख्छन् । सयौं युवालाई ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको तालिम प्रदान गरे पनि उनीहरूको सेवा गाउँस्तरमा त्यति प्रभावकारी हुन सकेको पाइँदैन । तालिमपछि अधिकांश कार्यकर्ताले दीर्घकालीन रुपमा व्यवसाय गरेको पाइँदैन् । यसको मुख्य कारण तालिमपछि उनीहरूले पशु स्वास्थ्य सेवालाई व्यावसायिक रुपमा अगाडि बढाउन नसक्नु हो ।

पशु स्वास्थ्य कार्यकर्ताको अवधारणालाई ठोस र दीर्घकालीनरुपमा सेवा प्रदान गराउने प्रणालीमा समावेश गर्ने हो भने तालिम मात्रै प्रयाप्त नहुने देखिन्छ । यसका लागि तालिमपछि यस्ता कार्यकर्तालाई एग्रोभेट सञ्चालन गर्नका लागि सुलभ ऋण प्रदान गर्ने र गाउँमै बसेर सेवा सञ्चालन गर्न सक्ने वातावरणको विकास गर्न सक्नु पर्दछ । पशुमा कुनै समस्या देखिएमा उपचारका लागि आवश्यक औषधि तथा उपकरण यस्ता कार्यकर्ताले गाउँमै उपलब्ध गराउन सके मात्रै उनीहरूको सेवा प्रभावकारी हुन सक्छ । मौखिकरुपमा दिने सल्लाह तथा सेवाले न त किसानले नै पर्याप्त मात्रामा गाउँमै सेवा पाउन सक्छन न त पशु स्वास्थ्य कार्यकर्ताको पेसाले उनीहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउन सक्छ । जसले गर्दा यस्तो तालिम लिएका केही युवा गाउँघरमा काम पाउन छाडेपछि विदेसिन थालेको अवस्था छ ।

पशु स्वास्थ्य कार्यकर्ताको तालिम लिएका युवा विदेसिने क्रम बढेमा सरकारी वा अन्य निकायबाट उनीहरूका लागि गरेको लगानीको कुनै अर्थ रहँदैन । साथै ग्रामीण किसान पनि पाउनु पर्ने सेवाबाट बञ्चित हुदै जानेछन् । कार्यकर्ताको सेवालाई प्रभावकारी बनाउनका लागि उनीहरूलाई एग्रोभेट सञ्चालन गर्नका लागि ऋण सुविधा र उपकरण उपलब्ध गराउनु पहिलो प्राथमिकता हुनु पर्ने देखिन्छ । साथै ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको राष्ट्रियस्तरमा सङ्घ स्थापना गरेमा उनीहरूको व्यवसायले सामाजिक पहिचान पाउन सक्छ ।

एकातर्फ ग्रामीण स्वास्थ्य कार्यकर्ताका लागि तालिम पछि दिनुपर्ने सुविधा उपलब्ध गराउनु जरुरी छ भने अर्कोतर्फ किसानलाई कृषि तथा पशुपालन व्यवसायमा आकषिर्त गर्नका लागिवित्तीय सेवामा पहुँच पुर्‍याउने, पशुधन सुरक्षण कार्यक्रमलाई विस्तार गर्ने, बजारको व्यवस्था गर्नका लागि निजी क्षेत्रलाई आफ्ना कार्यक्रममा समेट्ने जस्ता अनुकुल वातावरणको सिर्जना गर्नु पर्ने देखिन्छ । यथेष्ठ मात्रामा सेवा उपलब्ध भएमा र कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास किसानमा जगाउन सके मात्र किसान निर्वाहमुखी व्यवसायबाट व्यावसायिकतातर्फ आकषिर्त हुन सक्छन् । ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले पनि गाउँमै काम पाउन सक्छन् । किसानले अपनाउने कृषि तथा पशुपालन व्यवसायमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको व्यवसाय निर्भर हुने भएकोले किसानका लागि पनि पशुपालन व्यवसाय अपनाउनका लागि आवश्यक संरचनाको निर्माण गर्नु पर्ने देखिन्छ ।

सरकारी वा गैरसरकारी संस्थाले आफ्ना कार्यक्रम तथा परियोजना सञ्चालनमा यदि ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको अवधारणा राखेका छन् भने यस्ता कार्यक्रम तथा परियोजना सम्पन्न हुँदा अपनाउनु पर्ने रणनीतिमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्तालाई दीर्घकालीन रुपमा काम गर्ने क्षमताको विकास गर्नेतर्फ ध्यान दिनुपदर्छ । यसबाट किसानले भरपर्दो र आवश्यक सेवा गाउँमै पाउन सक्छन् । तालिम उपलब्ध गराउने एक किसिमको कार्यक्रम हुन सक्छ भने त्यसलाई दिगोरुप दिने अर्को पाटोलाई पनि बिर्सन हुदैन । जसले गर्दा परियोजना वा कार्यक्रम सञ्चालन गर्न चाहे सरकारी होस वा गैरसरकारी संस्था उनीहरूले गरेको कार्यक्रमको दिगो प्रभाव ग्रामीण स्तरसम्म पर्न सक्छ । साथै एउटा तालिमबाट बेरोजगार युवाले गाउँमै आफ्नो सेवा प्रदान गर्ने र आफ्नो जीविकोपार्जन सुनिश्चित गर्ने अवसर पाउन सक्छन् । दाता वा सरकारले गरेको लगानीको उचित प्रयोग र अर्थ हुन सक्छ ।

The article was published in Gorkhapatra Daily on - 30 Jan 2012
You can follow in the link below.
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=62867&cat_id=18

No comments: